जवान तमु प्ये ल्हु संघ ****
मल्याङकोट-४,स्याङजा
मिर्मिरे बिहान, प्रचण्ड गर्मी उराठ लाग्दो दिन, शीतल साझ, अध्यारो रात अनि फेरि अर्को मिर्मिरे बिहान । सेकेण्ड, मिनेट, घण्टा, दिन, महिना, वर्ष र वर्षौंवर्ष गर्दा गर्दै थाहै नपाई तमु प्ये ल्हु संघले १९ औं वर्षमा प्रवेश गर्यो । यसै सुखद अवसरमा यही २०६५ कात्तिक ३ गते १९ औं वाषिर्कोत्सव समारोह भव्यतासाथ सम्पन्न गर्यो ।
प्रमुख अतिथि, अतिथि लगायत सम्पूर्ण शुभचिन्तकहरुले तमुजातिको पहिचानको निमित्त संघले गरेको काम प्रति प्रशंशा गरेर धन्यवाद दिंदै आफ्नो काम प्रति अझ लगनशील भएर लाग्न सकोस् र हरेक काम सफलतापूर्वक सम्पन्न गर्न सकोस् भन्ने शुभेच्छा प्रकट गरे । यसरी धन्यवादको पत्र बन्न सफल यस संघले जवानीमा पाइला टेकेको छ । जवानीलाई किशोर, युवा, ठिटो आदि संज्ञा पनि दिने गरिन्छ ।
समस्याः
“
जवानीमा स्याल पनि रागे हुन्छ “ भन्ने नेपाली उखान छ । संघले यो उखानको चरितार्थ गरेको कुरा प्रष्टै झल्किन्छ । हटिलो, मोटिलो, गठिलो, हासिलो, रसिलो, जोशिलो, जागरिलो, रातो, पिरो देखिंदै आएको छ यो संघ । २०४७ सालमा बयरघारी, कास्कीमा १०-२० जना भेला भएर गठन प्रक्रिया सुरु गरिएको संघ अहिले देश विदेशमा पुगेर आफ्नो पहिचान स्थापना गर्न सफल भएको छ । घर न घाटको संघ अहिले बिल्डिङ्ग ठड्याएर चेला प्रशिक्षण दिन सक्ने भएको छ । तमुजातिमा जीवित रहेको परम्परागत रीतिरिवाज र संस्कार अनुसार सबै कर्मकाण्डहरु संचालन गर्न सक्षम भएको छ । यही नै एउटा संस्था हो जसले तमुजातिको मौलिक संस्कृति संरक्षण र संवर्द्धन गर्न सक्छ भनेर आफूलाई दरिलो संस्थाको रुपमा चिनाउन पनि सफल भएको छ । यसरी दिन प्रति दिन सफलताको शिखर चढिरहेको यस संघले धेरैधेरै चुनौतीको सामना पनि गरी रहनुपरेको छ । ती चुनौतीहरु यस प्रकार रहेका छन् :-1.
परम्परागत मूल्य र मान्यतालाई परिमार्जन गर्न नसक्नु ।2.
सक्षम र सबल नेतृत्व प्राप्त गर्न नसक्नु ।3.
आधुनिक वैज्ञानिक प्रविधि प्रयोग गर्न नसक्नु ।4.
सिद्धान्त र व्यवहारमा तालमेल हुन नसक्नु ।5.
भौतिक सुविधाको अभाव हुनु ।
जोशमा होशः
भर्खर मात्र जवानीमा पाइला टेक्नु र गगनचुम्बी चुनौतीको सामना गर्नपर्नु । यी दुवै खतराका लक्षण हुन् । तर भनिन्छ, जोशमा होश पुर्याए सोचे जस्तो काम सफल हुन सक्छ । विशेष गरी यो पनि जवानीमा । जवानीको जोशमा होश पुर्याउन सकिएन भने एकै पाइलाले पनि भविष्य अन्धकारमा पर्न जान्छ । जवानीमा पाइला मात्र टेक्न पाएको छैन । काम प्रशस्त छन् । यो गर्छु, त्यो गर्छु, सबै थोक गर्छु भनेर तम्सेको पनि छ । तर तौर तरिका पटक्कै मिलेको छैन । गरी छाड्छु भन्ने धाकधक्कु लडाएर रवाफ पनि देखाउाछ तर अझ मेलो समाउन सकेको पाईदैन । इतिहासमा पहिलो पटक महाधिवेशन गर्यो । सही मान्छे सही ठाउामा पुग्न नसकेको, जिल्ला शाखाका सबै समेट्न नसकेको आदि इत्यादि भनी असन्तुष्टी व्यक्त गरे । चोरलाई चौतारी, साधुलाई सुली हुन गयो भनी असन्तुष्ट पक्षले जिल्ला व्यापी मत सर्वेक्षण गरी वेजिल्लामा गएर सम्मेलन गरे । उक्त सम्मेलनले केन्द्रमा ज्ञापनपत्र पेश गरे । जिल्ला, शाखा र केन्द्र आ-आफै एकापसमा एकले अर्कामाथि हिलो छेप्ने र आफ्नै आङ कन्याएर छारो उडाउने काम गरे । यसले गर्दा ऊ कयौं ठाउामा हास्यको पात्र पनि बन्न पुगेको देखिन्छ । तर बुद्धिजीवीले बुझ्नुपर्छ । ऊ भर्खर मात्र जवानीमा छ । परिपक्व बन्न सकेको छैन । त्यसलाई हाासोको पात्र बनाउने होइन कि ज्ञानको एउटा अध्यायको रुपमा लिनुपर्छ । आकाशको राहु पातालको केतु, एक पटक नपरी कसरी चेतु भन्ने उखान छ । मान्छेले गल्ती गर्छ । गल्ती सुधार्ने मौका दिइनुपर्छ । ऊ अवश्य पनि सुधि्रंदै जान्छ । गल्ती गर्नेले गल्तीको महसुस् गरी गल्ती सच्याएर आफूलाई सुधार्ने कोशिस गर्नुपर्छ । अनि मात्र सुधार र निर्माणको मार्ग प्रशस्त बन्छ । उज्ज्वल भविष्य सुनिश्चित हुन्छ । कसैले गल्ती गर्यो भन्दैमा त्यही एकै गल्तीमा सफाया गरी दिनु प्रजातान्त्रिक परिपाटीको लक्षण होइन ।
शिर पुच्छर के हो ?
टाउकोले पुच्छर हल्लाउछ कि पुच्छरले टाउको हल्लाउछ ?
यो विचारणीय पक्ष हो । कहिलेकांही पुच्छरले टाउको हल्लाई रहे जस्तो भान हुन्छ । तर वास्तवमा टाउकाले नै पुच्छर हल्लाई रहेको हुन्छ । यो देख्ने, सुन्ने र भोग्ने व्यक्ति विशेषमा भर पर्ने कुरा हो । त्यसैले हामी हल्लिने र हल्लाउनेको पछि लाग्नु हुंदैन । वास्तविक सत्य र तथ्य कुरा के हो त्यसको पछि लाग्नु पर्छ । किनभने संघको गन्तव्य निकै दूर दराजमा छ । यसले तमुजातिको मौलिक परम्परागत संस्कृति संरक्षण सम्वर्द्धन गरेर मात्र पुग्ने वाला छैन । यसले तमुजातिको जातीय हकाधिकारको निमित्त पनि लड्नु आवश्यक छ । त्यसको लागि सक्षम र सबल एउटै मात्र संस्था यस संघलाई कसरी सबल र सक्षम बनाउन सकिन्छ, त्यतातिर ध्यान दिनु टड्कारो आवश्यकता छ । किनभने यो संस्था र तमु जातिको मौलिक परम्परा एकापसका परिपुरक बनेका छन् । यिनीहरु नङ र मासु जस्ता भैसके । यो संस्था अब कुनै व्यक्ति, समूह र जाति विशेषको पेवा होइन र रहेन पनि । यो राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय धार्मिक सांस्कृतिक सम्पदाको रुपमा स्थापना भैसकेको छ । भलै यो दुई चार जना व्यक्तिले स्थापना गरेको किन नहोस् । यसको आफ्नै विधि विधान, नीति नियम छ । यो यसको विधिविधान अनुसार चल्छ र चल्नु पर्छ । तर राष्ट्रिय विधि विधान र नीति नियमभन्दा बाहिर जान सक्दैन । यो राष्ट्रिय विधिविधानको परिधिभित्र आफ्नै विधान अनुसार विधिवत ढङ्गले स्थापना भएको हो र विधिवत ढङ्गले चल्नुपर्छ । विधानभन्दा बाहिर गएर चलाउन खोजिन्छ र आफूखुशी चलाइन्छ भने जसले त्यस्तो किसिमको काम कारवाही गर्छ ऊ कानुन बमोजिम सजायको भागी हुन्छ । किनभने कानूनी राज्यमा कानूनभन्दा माथि कोही पनि हुन सक्दैन । कानूनभन्दा बाहिर चल्न र हिड्न खोज्ने व्यक्ति टिक्न सक्दैन । त्यसलाई टिकाउन खोजिन्छ भने शासन टिक्न सक्दैन । संघ जीवित रहन सक्दैन । त्यसैले जे कुरा पनि टिकाउ परिपक्व र दीर्घजीवी हुनुपर्छ । सबै सत्यको खोजी गर्छन् । सत्यको पछि लाग्छन् । किनभने सत्य सौन्दर्यले भरिएको हुन्छ र त्यसमा उज्ज्वल भविष्य अन्तनिर्हित हुन्छ ।
साच्चिकै वैंश आयो ?
जवानीलाई वैंश पनि भनिन्छ क्यारे । उमेर पुगेर मात्र वैंश आएको होइन यसको । वैंशालु व्यक्तिसाग हुनुपर्ने सबै गुणले सम्पन्न छ यो संघ । सबैभन्दा पहिले जातीय अस्तित्व झल्काउने क्होइवो निर्माण गर्यो । मौलिक पहिचान दिन सक्ने संग्रहालय स्थापना गर्यो । ४ -चार) तले खेगी प्रशिक्षण भवन निर्माण गर्यो । अधिराज्यव्यापी खेगी भेला सम्पन्न गर्यो । तमुजातिको परम्परागत संस्कृति विस्तार गर्नको लागि ३ -तीन) लट पच्यु क्ल्हेप्री प्रशिक्षण कार्यक्रम सम्पन्न गरी सक्यो । आफ्नो जातिमा जीवित रहेका सबै किसिमका पराम्परागत सांस्कारिक कर्मकाण्ड -पुण्य कार्य) गर्न सक्षम भएको छ । यो संघ रेडियो, टेलिभिजन अनि इण्टरनेटमा प्रवेश गरी सकेको छ । यसले आफ्नै वेबसाइट निर्माण गरेको छ
www.tamu-pyelhu.org यो हामी सबैको तन मनमा छाउन सफल भएको छ । निर्देषक परिषद, सल्लाहाकार समिति, केन्द्रीय समिति, पच्यु समिति, क्ल्हेप्री समिति, युवा समिति, व्यवस्थापन समिति, देश विदेशका जिल्ला समिति तथा शाखाहरु आदि इत्यादि यसका सबल एवम् सक्रिय अङ्गहरु हुन् । यिनमा कुनै एउटा अङ्ग मात्र पनि निस्त्रिmय भएमा सबै अङ्ग ठप्प रोकिन्छन् । यसरी रोकिनु भनेको यसको जीवन चक्र नै रोकिनु हो । त्यसैले यसलाई रोकिन दिनु हुंदैन । यसका हरेक अङ्ग प्रत्यङ्ग निरन्तर चलिरहेका छन् । निरन्तर चल्न प्रोत्साहन दिनुपर्छ । हामी सबैले हस्तेमा हैंसे थपेर यसलाई निरन्तर चल्न सक्ने बनाउनुपर्छ । त्यो नै बुद्धिमानी हो ।
सही बाटोः
हुने विरुवाको चिल्लो पात भने झैं यसले छोटै समयमा धेरै राम्रा राम्रा कामहरु गरेर देखाएको छ । बिहानीले दिन दर्शाउाछ । यो अत्यन्त शुभ लक्षण हो । यसो भनेर मात्र हुंदैन । जोशमा होश पनि पुर्याउन सक्नुपर्छ । जवानीमा कुनै एउटा बाटो बिराउादैमा सधैं सबै बाटो बिराउादै जान्छ भन्न सकिंदैन । किनभने जीवनमा सिक्ने मौका धेरै आउाछन् । यसो भन्दैमा गल्तीमात्र दोहोर्याई रहे दुर्घटनामा परिन्छ । जीवन यात्रामा कोही अर्तिबुद्धि दिने ज्ञानी पनि भेटिन्छन् । देख्नेले भनी हाल्नुपर्छ । यो सही बाटो हो । त्यो गलत बाटो हो । अनि बाटो देखाई सकेपछि हिड्ने बटुवा पनि सही बाटो पछ्याएर हिड्नुपर्छ । परेपछि मात्र चेत्नु मुख्र्याई हो भने देखाएको सही बाटो हिड्नु बटुवाको बुद्धिमानी हो । अनि फेरि बटुवाले खोला तरी सकेपछि लौरोको गुण पनि सम्झनु पर्छ । कि आफैंले जान्नु पर्यो, कि जान्नेले देखाएको सही बाटो हिड्नुपर्यो । यसो गरे अवश्य पनि गन्तव्यमा पुगिन्छ । यही संस्थाको अन्तिम लक्ष्य हो र हामी सबैको चाहना पनि हो । फलोस् फुलोस्, उत्तरोत्तर प्रगति गर्दै जाओस् ।
“ल्वो“ ल्होसारको शुभकामना ।थरो थरो क्ल्हेसोती प्ह्रेसोती थरो । थरो थरो तमु प्ये ल्हु संघ थरो ।। थरो थरो ङ्यो तमुजाति थरो ।।।